छुवाछुतको पर्खाल कहिलेसम्म?

सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञको नाममा दलित परिवारको घर भत्काइएको घटना हाम्रो समाजको अँध्यारो यथार्थ हो। २१ औँ शताब्दीमा पुगेको देशमा अझै पनि जातीय भेदभाव, छुवाछुत र अमानवीय सोच कायम छ भने हाम्रो सभ्यता, संस्कार, र कानूनी व्यवस्था केका लागि?


छुवाछुत एक अपराध मात्र होइन, यो मानवता माथिको कलंक हो। दलितहरूलाई ‘अपवित्र’ भन्दै उनीहरूको बसोबास नै ध्वस्त पार्नु कति क्रूरता पूर्ण सोच हो? धर्मको नाममा कसैको घर भत्काउनु, माटो समेत खनेर फाल्नु, र तिनलाई सामाजिक रूपमा बहिष्कृत गर्नु कुनै पनि हालतमा धार्मिक आचरण हुन सक्दैन। धर्मले सबैलाई समान दृष्टिले हेर्नुपर्छ, तर यहाँ त धर्मकै नाममा अन्याय भइरहेको छ।


नेपालको संविधानले जातीय विभेदलाई दण्डनीय अपराध मानेको छ। कानुनले सबैलाई समान अधिकार दिएको छ। तर समाजमा अझै पनि मानसिकताले परिवर्तन स्वीकार गर्न सकेको छैन। जबसम्म जातको आधारमा भेदभाव गरिन्छ, जबसम्म दलित समुदायलाई दोस्रो दर्जाको नागरिकझैँ व्यवहार गरिन्छ, तबसम्म हाम्रो लोकतन्त्र अधूरो रहन्छ।


अब समय आयो छुवाछुतको पर्खाल भत्काउने, समानताको ज्योति फैलाउने। सबै नागरिकलाई समान अवसर, समान सम्मान, र समान हक सुनिश्चित गर्न हामी सबै जागरुक हुनुपर्छ। जात होइन, कर्म ठूलो हुन्छ। सभ्य समाज बनाउनलाई जातीय अहंकार होइन, प्रेम र समभाव चाहिन्छ।


अब बोलौं, लेखौं, प्रतिकार गरौं—छुवाछुतको अन्त्य

का लागि!

Post a Comment (0)
Previous Post Next Post